काठमाडौं महानगरको बीचमा रहेको स्वयंम्भुनाथ स्थित किमडोलमा रहेको छ मट्का घर । मट्का घर कुनै माटोको घर नभइ नेपालकै उत्पादन प्रयोग गरेर नेपाली स्वादमा खानाका परिकार खुवाउने एक रेष्टुरेन्ट हो।
यस रेष्टुरेन्टले भक्तपुरमा हातले उत्पादित माटोको भाँडामा पकाएर विभिन्न परिकारहरु ग्राहकबीच पस्किरहेको छ। करिब ३ वर्ष अगाडि ४ जना साथीहरु मिलेर खोलिएको थियो मट्का घर । समय र परिस्थितीले २ वर्ष लकडाउनको मारमा परे पनि साथीहरुको दृढ आत्मविश्वास र लगनशीलताले मट्का घर नडग्मगाएको कम्पनीका सञ्चालक राज पौडेल बताउँछन् । कम्पनीका सञ्चालक आफैं विदेशी जीवन त्यागेर आएका हुन् भने अन्य साथीहरुले पनि स्वदेशी एवम् विदेशी रोजगारीको बाटो त्यागी व्यापार व्यवसायको बाटो अपनाएका छन् । विदेश जानलाई मोटो रकम खर्च गरेर विदेशी जनजीवन अपनाउन तयार नरहेका मट्का घरका सञ्चालकहरु नेपालमै संघर्ष गर्ने योजनामा रहेका छन् ।
मट्का घरलाई एउटा केन्द्रको रुपमा राखेर स्वदेश तथा विदेशमा रहेका विश्वासिलो साथीहरुसँग नेपालमा उत्पादन र उत्पादकत्व बढाउने व्यापारमा केन्द्रित रहेका छन् । हाल रेष्टुरेन्ट व्यवसायमा आवद्ध भएता पनि टिम वर्कको मद्दतले एकै साथ बस्दा विभिन्न क्षेत्रको ज्ञान एकैसाथ लिन सक्ने वातावरण मट्का घरमा रहेको सञ्चालक राज पौडेलको भनाइ छ । देशको आवश्यकता र अर्थतन्त्रलाई ध्यानमा राखेर आयात प्रतिस्थापन गर्ने प्रकारका व्यवसायमा मात्र आफूहरु केन्द्रित रहेको पौडेलले बताए । उनी भन्छन्, ‘पैसा नै कमाउने हो भने सबैले गरेझैं जस्ताको त्यस्तै वस्तुहरु आयात गरि नाफा खाएर बेचे मात्र नि भैहाल्यो नि, राम्रै नाफा हुन्छ , तर होइन हामीले व्यवसाय गर्दा देशको अर्थतन्त्रमा पर्ने दीर्घकालीन असरबारेमा सोच्नै पर्छ , दीर्घकालमा निर्यात गरौँ भन्ने मुल विचार लिएरै हामी अगाडि बढेका छौँ ।’ ‘पैसा नै कमाउने हो भने सबैले गरेझैं जस्ताको त्यस्तै वस्तुहरु आयात गरि नाफा खाएर बेचे मात्र नि भैहाल्यो नि, राम्रै नाफा हुन्छ , तर होइन हामीले व्यवसाय गर्दा देशको अर्थतन्त्रमा पर्ने दीर्घकालीन असरबारेमा सोच्नै पर्छ, दीर्घकालमा निर्यात गरौँ भन्ने मुल विचार लिएरै हामी अगाडि बढेका छौँ।’ देश विकास नभएको गुनासो हामी चौतर्फी सुन्ने गर्छौं तर कुनै युवा समूहको यस्तो जोश र जाँगरले देश साच्चै विकाश तर्फ उन्मुख भएकै हो जस्तो अनुभूति गराउँछ ।
एकातर्फ युवाको जोश अर्कोतर्फ सरकारको नीति र देशको अवस्था । युवा व्यवसायलाई देशमा व्यवसाय गर्ने वातावरण नरहे पनि निरन्तरको अध्ययन, टिमवर्कमा विश्वासले व्यवसायको थालनी गर्न सकिए पनि व्यवसायलाई माथि उकास्न राज्य र सरकारको आवश्यकता खड्किने उनको भनाइ छ । वास्तविक कागजात भए पनि घरौटी एवम् विभिन्न बाहानाबाजीले व्यवसाय माथि उकास्न राज्य असमर्थ रहेको वास्तविकता नै हो । उनका अनुसार आफ्नै व्यवसाय सुरु गरे पछि समाज र राज्यबाट काम गर्न हातोत्साहित हुने काम धेरै भएका छन् । यद्यपी नेपालमै जन्मिएर नेपालकै लागि केही गर्छु भनेर लागि परेका छन्, “मट्का घर” ग्रुप । हाल “मट्का घर” मा सुलभ दरमा हातले उत्पादन गरिएको माटोका भाँडाको चिया र पश्चिमी तराई नेपालको बिर्यानी पस्किरहेको छ ।
छाउनी अस्पतालबाट नजिक रहेको “मट्का घर” मा शान्त एवम् मैत्रीपूर्ण वातावरण रहेको छ । मट्का घरले खानाका साथसाथै सेवामा पनि सुधार गर्दै देशको विभिन्नस्थानमा आफ्नो फ्रेन्चाइज विस्तारको योजनामा रहेको छ। अहिले “मट्का घर”ले ७ जनालाई रोजगारी दिइरहेको छ। यसका साथै जागिरमा स्वरोजगारका लागि उत्प्रेरणा गर्ने काम पनि “मट्का घर” बाट भइरहेको छ।