१९ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ ।
अघिल्लो तथ्यांकमा भारतीय पर्यटक नजोडिएको भन्दै बोर्डले मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो संख्या भने कोरोना महामारी यताकै बढी हो । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएका थिए । सो संख्या सहित कुल आगमन ५८ हजार ३४८ पुगेको छ । सन् २०२१ को अप्रिलमा २२ हजार ४ सय ५० पर्यटक आएको समेत तथ्यांक बोर्डले सार्वजनिक गरेको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले अघिल्लो तथ्यांकमा भारतीय पर्यटकको संख्या नजोडिएका कारण संख्या घटेको देखिए पनि समग्रमा पर्यटक आगमन उत्साहजनक रहेको बताए ।
सन् २०२२ मा कुन महिनामा कति पर्यटक आए ?
बोर्डका अनुसार यस महिनामा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक आएका छन् । चीनबाट भने मात्र २८१ जना नेपाल आएका छन् । बंगलादेशबाट १५३७ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।
यो महिनामा अमेरिकाबाट ६ हजार ९५४ जना पर्यटक आएका छन् । बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।